काठमाडौं - अमेरिकास्थित नेपालीमूलका खेलाडीहरूका लागि सर्वाधिक पुरस्कार राशी रहेको इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। अमेरिकाको ओहायो राज्यको एक्रोन शहरको कोप्ले सकर कम्प्लेक्समा अमेरिकाभरिका नेपालीमूलका युवायुवतीबीच फुटबल सुरु भएको हो।

पुरुषतर्फ ३० वर्षमुनिका युवा, ३० देखि ३९ वर्ष सम्मका युवा र ४० वर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरु तय गरिएका छन् भने महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिष्पर्धा हुने छ। यसैगरी १६ बर्षदेखि मुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिष्पर्धा हुनेछ।

पीसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेका यी खेलहरुमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टीम दर्ता भएका छन्। किशोर किशोरीतर्फ २९ वटा टीम दर्ता भएका छन्। 

सबै उमेर समूह र सबै टीमका गरी लगभग १४ सय खेलाडीहरु सहभागी भएको खेलको उद्घाटन इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर गरेका थिए। उनले अमेरिका र क्यानडामा रहेको नेपाली भाषी समाजका खेलप्रेमीहरुलाई एक ठाउँमा ल्याई आपसी भाइचारको अभिवृद्धिका साथै अनुशासित प्रतिष्पर्धात्मकताको विकास गर्ने उद्देश्यले खेलहरु आयोजना गरिएको बताए। अमेरिका, क्यानडाजस्ता देशहरुमा बसेर पनि आफ्नो नेपाली जातीय पहिचान र एकता कायम राख्दै अगाडि बढ्न प्रेरित गरोस् भन्ने पनि खेलको उद्देश्य रहेको उनले बताए।

आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन्। जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन्। 

४० वर्षमुनिको सिनियर युथ तर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन्। 

त्यसैगरी ४० वर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिष्पर्धा छ। 

महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिष्पर्धा हुँदैछ।

नेपाली मूलका नेपालीहरुको सर्वागिंण विकासमा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिँदै सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा बृहत भलिबल प्रतियोगिताको आयोजना गरिएको पनि आयोजकले जानकारी दिएको छ।