काठमाडौं - दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।

 सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् ।  नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ ।

कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरु मानसिक रुपमा पनि तयार रहेको बताउनुभयो । 

सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । 

नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।

त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ ।

नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।