काठमाडौं - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा रहेको रङ्गशाला निर्माणको काम सुरु भएको महानगरका सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँले प्यारापिट मुनि ढुङ्गाको सोलिङको काम धमाधम भइरहेको बताउँनुभयो। निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको र प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेको उहाँले बताउनुभयो । 
 
१० हजार दर्शक बस्न मिल्ने प्यारापिटसहितको रङ्गशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको छ ।  विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

यसअघि रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ ।