काठमाडौं - नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्‍यो ।

नेपालमाथि जित निकालेपछि भारतले फेरि एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ । योसँगै नेपालले ५ वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिन चुकेको छ । यसअघि सन् २०१९ मा घरेलु मैदानमा नै भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल भारतसँग नै ३–२ को सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको थियो ।

करिब चार दशक लामो इतिहास बोकेको महिला भलिबलले पहिलो पटक लिग चरणमा भारतलाई ३–२ को सेटमा हराउँदै इतिहास रचेको थियो ।