काठमाडौं - एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको हो । नेपालको जितमा सम्झना खड्काले ४५ बलमा नटआउट ७२ रन बनाईन । उनले ११ चौकाको मद्दतमा शानदार अर्धशतक बनाएकी हुन् ।

उनको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो । नेपालका लागि रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोडिन् । सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोडिन् भने पुजा महतो ७ रनमा नटआउट भईन्। यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिईन । कविता जोशी, सबनम राई, कृतिका मरासिनीले एकएक विकेट लिए । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाईन् । समूह ‘ए’ मा रहेको नेपालले अब समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।