काठमाडौं - फ्रान्सलाई हराउँदै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। 

लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो।

म्युनिख एरेनामा भएको खेलमा फ्रान्सले सुरुवाति अग्रता लिएको थियो।  ९ मिनेटमै राण्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए।  यामल १६ वर्षीय खेलाडी हुन्। गोलसँगै उनले आफ्नो नाममा कीर्तिमानी लेखाउन सफल भएका छन्। 

खेलको २५ औं मिनेटमा डानी ओल्मोले गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा स्पेनले २-१ को अग्रता लिएको थियो। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा  स्पेन फाइनलमा पुग्न सफल भएको छ।

स्पेनले अब बुधबार राति नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ। स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो।