काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भनेभयो, 'असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो,तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।'
उनले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए। कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।
यसका साथै बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ। एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ।
बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।
गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी थिए ।
0 comment