काठमाडौं - नेपाललाई ४ विकेटले हराउँदै यूएईले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ। 

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टाएको हो। नेपालले यसअघि लिगका चारवटै खेल जितेको थियो। तर, फाइनल भने नेपाल चुकेको छ। 

मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए। अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए। नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनायो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए। आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए। 

यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए। जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो। नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो। लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो। टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो।