काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।  

शनिबारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् । योसँगै चन्द तेस्रो पटक क्यानको अध्यक्ष बनेका छन् । नयाँ विधान लागू भएपछि चन्द लगातार दुई कार्यकाल अध्यक्ष भएका थिए भने २०१४ मा उनी अध्यक्ष हुँदा क्यान निलम्बनमा परेपछि काम गर्न पाएका थिएनन् ।

त्यस्तै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भएका छन् । क्यानको शीर्ष चारमध्ये तीन पदाधिकारी निर्विरोध चयन भएका छन् । सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।