काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानका लागी खेलको ७६औं मिनेटमा अली जफरले निर्णायक गोल गरे। जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो।

पाकिस्तानले अब शनिबार माल्दिभ्ससँग खेल्नेछ भने नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ। 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै समूह ‘बी’मा भारत, बंगलादेश र भुटान रहेका छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

आजैबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो ।