काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि भारतीय क्रिकेट टिमसँग खेलेको थिएन । भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। भारतको यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ । नेपाल र भारतबीच एसिसी इमर्जिङ टिम्स कपमा भने श्रीलंकामा प्रतिस्पर्धा भएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन जोडे पनि नेपाल १६७ रनमा अलआउट भएको थियो । ९ विकेटको जित निकालेको भारतका लागि आइपिएलको अनुभव बटुलेका साइ सुदर्शन र अभिषेक शर्माले अर्धशतक हाने।

२०१७ मा भने नेपालले मलेसियामा भएको यू–१९ एसिया कप क्रिकेटमा भारतलाई १९ रनको जित निकालेर इतिहास बनाएको थियो। नेपालको कम्तानी दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउँदा ४ विकेट लिएका थिए । नेपालले कुनै पनि स्तरमा भारतलाई हराएको पहिलो जित भएको थियो । 

पाकिस्तानले ३ अंक जोडेर सुपर फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ।