काठमाडौं - एसिया कपको उद्घाटन खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। 

पकिस्तानस्थित मुल्तान क्रीकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले बाबर आजम र इफ्तिखर अहमदको सतक बढीको पारीसँगै नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको थियो । पाकिस्तानी बलरसामु निरीह बनेको नेपाल २३.४ ओभरमा १०४ रन बनाएर अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। आरिफ शेख २६ र गुल्सन झा १३ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजबंशी शून्यमै पेभेलियन फर्किएका थिए।

नेपाली खेलाडीलाई निरीह बनाउन सादव खानले ४ विकेट लिए। त्यस्तै साहिन शाह अफ्रिदी र हरिस राउफले दुई-दुई विकेट लिए भने नसिम शाह र महोम्मद नावाजले एक-एक विकेट लिए।

निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ६ विकेट गुमाएर ३४२ रनको विशाल रन खडा गरेको थियो। 

पाकिस्तानका लागि बाबरले व्यक्तिगत १९औं सतक बनाउँदै १५१ रनमा आउट हुँदा इफ्तिखरले नेपालविरुद्ध १०९ रन बनाउँदै एक दिवसीयमा पहिलो सतक प्रहार गर्दै अविजित रहे। उनीहरूले २१४ रनको साझेदारी खेलेका थिए। आघा सलमान ५ रन, मोहम्मद रिजवान ४४ रन इमान उल हक ५ रन र फखर जमान १४ रनमा आउट भएका थिए। 

सुरुवाती चरणमा राम्रो प्रदर्शन गरेका नेपाली खेलाडीहरू ४० ओभरपछि बाबर र इफ्तिखरको ब्याटिङसामु निरीह बनेका थिए। 

नेपालका लागि सोमपाल कामीले दुई र करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए।