काठमाडौं - १९औं एसियन गेम्सको तयारीका लागि ९ जना तेक्वान्दो खेलाडी थाइल्याण्ड प्रस्थान गरेका छन्।

सेप्टेम्बर चौथो सातादेखि चीनको हाङ्जाउमा हुने एसियन गेम्सको तयारीका लागि राहुल कुमाल, गोबिन्दबहादुर आले, वीरबहादुर महरा, अभिशेक बराल, ज्याकी यादव, अञ्जली तामाङ, आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेत थाइल्याण्ड गएका हुन्। खेलाडीसँगै प्रशिक्षक टिकाप्रसाद लिम्बु, कुमार लामा घिसिङ र ग्यानी चुनारा समेत थाइल्याण्ड गएका छन्।

प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष भानु चन्द लगायतले बिदाइ गरे। सातदोबाटोस्थित संघको भवनमा आयोजित बिदाइ कार्यक्रममा राणाले तेक्वान्दो पदकको आशा गरिएको खेल भएकाले तयारीलाई प्रभावकारी बनाउन आग्रह गरे।

प्रशिक्षणबाट खेलाडीलाई थप अनुभव बटुल्न मद्दत पुग्नेमा आफू आशावादी रहेको अध्यक्ष राणाको भनाइ छ। बिदाइ कार्यक्रममा उपाध्यक्ष भानु चन्दले खेलाडीको मनोबल थप उच्च पार्नका लागि संघले तयारी प्रशिक्षणको व्यवस्था गरेको बताए।

बैंककमा तयारी गरेर खेलाडीहरु सेप्टेम्बर १७ तारिख नेपाल फर्किएलगत्तै चीनको हाङ्जाउ जानेछन्। हाङ्जाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म १९औं एसियन गेम्स हुँदैछ।