काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन्। 

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १६ वटा संस्थालाई एसइईको नतिजा प्रकाशन गर्न अनुमति दिएको हो।

नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन्। अनुमति पाएसँगै यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, एडुसञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था/फर्मले वेवसाइटमार्फत् नतिजा उपलब्ध गराउने भएका छन्। 

त्यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि लगायतका पाँच वटा संस्था र फर्मले एमएमएस र आईभीआरमार्फत नतिजा उपलब्ध गराउने भएका छन्। 

शुक्रबारभित्रमा एसइईको नतिजा प्रकाशन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

बोर्डले यो वर्ष पनि पुरानै लेटर ग्रेडिङ प्रणाली (अक्षरांकन) अनुसार नतिजा प्रकाशन गर्न लागेको जनाएको छ। पुरानो पाठ्यक्रम अनुसार पढाइ हुने अन्तिम वर्ष भएकाले यो पटक पुरानै लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको हो।