काठमाडौं - मलेसियालाई २२१ रनले हराउँदै नेपालले एसिसी यू–१६ इष्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा २५२ रन बनायो । २५३ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले सर्वाधिक १० रनाए ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित ११२ रन बनाए । यस्तै, नीरज यादवले ४७ र सन्तोष यादवले २६ रन बनाए । 

मलेसियाका लागि मुहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक-एक विकेट लिए ।