काठमाडौँ - नेपाल भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को समूह चरणको दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको छ। योसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।

बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा पहिलो हाफमा राम्रो प्रदर्शन गरेको नेपालविरुद्ध भारतीय कप्तान सुनील क्षेत्रीले ६२औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेट नबित्दै महेश नोरेमले दोस्रो गोल गर्दै २-० को जित सुनुश्चित गरे।

दुई वर्षअघि माल्दिभ्समा भएको अघिल्लो संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल यसपाली भने समूह चरणको एक खेल बाँकी रहँदै बाहिरिएको हो। गत संस्करणमा नेपाल भारतसँग फाइनलमा ३–० ले पराजित भएको थियो।

जारी प्रतियोगितामा समूह ‘ए’मा परेको नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको थियो। भारतसँगको पराजयसँगै लगातार दुई खेलमा पराजित नेपालले पाकिस्तानसँग खेल्न बाँकी छ।

जितसँगै समूह ‘ए’बाट भारत र आमन्त्रित टिम कुवेत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ। 

जारी प्रतियोगिताको अन्तिम खेलमा अंकविहिन नेपालले मंगलबार अर्को अंकविहिन टोली पाकिस्तानसँग अन्तिम खेल खेल्ने छ।