काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको छ।

यो पराजयसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ।

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र चार छक्कासहित ९० रनको शानदार इनिङ खेले। यस्तै, बस दी लिडले अविजित ४१ रन बनाउँदा विक्रमजित सिंहले ३० रन जोडे।

नेपालका लागि सन्दीप लामिछनेले दुई तथा गुल्शन झाले एक विकेट लिए। 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३, सन्दीप लामिछाने र कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन जोडेका थिए।

नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक चार विकेट लिए भने बस दी लिड र विक्रमजित सिंहले दुई–दुई विकेट लिए।

जितसँगै नेदरल्यान्ड्स एक खेल अगावै सुपर सिक्समा पुगेको छ भने नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ।

समूह 'ए' बाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् भने समूह 'बी' बाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन्।

सुपर सिक्सबाट शीर्ष दुई टिम भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।