काठमाडौं - आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह 'ए' को दोस्रो खेलमा नेपाल दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ।

जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रनको योगफल तयार गरेको थियो। जितका लागि कीर्तिमानी योगफल बनाउनुपर्ने लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको २ बल बाँकी छँदै सबै विकेट गुमाउँदा २३८ रन मात्र जोड्न सक्यो ।

नेपालका लागी आरिफ शेखले ९३ बलमा चार चौका र एक छक्कासहित ६३ रन जोडे। गुल्शन झा ४२ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रनको योगदान गरे। करण केसीले चार चौका र एक छक्कासहित २८ रन जोडे। दीपेन्द्र सिंह एरीले २३ रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनरद्वय कुशल भुर्तेल ५ र आसिफ शेख २८ रन जोडेर आउट भए । भीम सार्की दुई रनमा सीमित भए । 

वेस्ट इन्डिजका लागि जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, किमो पौल, अकिल होसेन, किमो पाउल र अल्जारी जोसेफले दुई–दुई तथा काइल मेयर्सले एक विकेट लिए।

बलिङमा राम्रो सुरुआत गरेको नेपालले १६औं ओभरमा वेस्ट इन्डिजका तीन ब्याटरलाई पभिलियन फर्काउँदा ५५ रन मात्रै खर्चेको थियो। तर, १७औं ओभरको अन्तिम बलमा विकेटकिपर आसिफ शेखले निकोलस पुरनको क्याच छोडेपछि खेल फेरियो। नेपाली बलिङसामू संघर्षरत वेस्ट इन्डिजका कप्तान शाई होप र पुरनले चौथो विकेटका लागि दुई सय १६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स उकासेका थिए।

ओपनर ब्रान्डोन किङ्ग ३२ रन बनाएर पभिलियन फर्किँदा अर्को ओपनर काइल मेयर्स एक तथा जोन्सोन चार्ल्स शून्यमा आउट भएका थिए।

होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै १३२ रन जोडे। त्यस्तै, पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन जोडेर आउट भए। 

नेपालका लागि ललित राजवंशीले तीन तथा करण केसी, सन्दीप लामिछाने, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।

पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले हारेको नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको थियो। सुपर सिक्समा रहँदै विश्वकप छनोटको अर्को चरणमा पुग्न नेपालका लागि शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक हुनेछ।

जितसँगै वेस्ट इन्डिजले दुई खेलबाट चार अंक जोडेको छ। शनिबार घरेलु टिम जिम्बाब्वे र वेस्ट इन्डिज आमनेसामने हुनेछन्। दश टिम सहभागी प्रतियोगिताका दुई समूहबाट शीर्ष दुई टिम सुपर सिक्समा पुग्ने छन्।