काठमाडौं - क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले युईएफए नेसन्स लिगको उपाधि उचालेको छ।

आइतबार राति नेदरल्यान्ड्सको डी क्विप रंगशालामा भएको फाइनलको निर्धारित ९० मिनेट गोलविहीन बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा क्रोएसियाका लागि निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे। लोभ्रो मायेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा गोल गर्न चुकेका थिए।

स्पेनका लागि होसेलु, रोड्री, मिकेल मेरिनो, मार्को असेन्सियो र ड्यानी कार्भाहलले गोल गर्दा आयमेरिक लापोर्टको प्रहार विफल भएको थियो।

कार्भाहलले छैटौं पेनाल्टीलाई गोलमा परिणत गरेसँगै स्पेन ५–४ ले विजयी भयो। योसँगै स्पने नेसन्स लिग जित्ने तेस्रो टिम बनेको छ। यसअघि पहिलो संस्करण पोर्चुगल र दोस्रो संस्करण फ्रान्सले जितेका थिए।

आइतबार राति नै भएको तेस्रो स्थानको प्लेअफमा नेदरल्यान्ड्सविरुद्ध इटाली ३-२ ले विजयी भएको छ। 

डि ग्रोइस भेस्ते रंगशालामा भएको खेलको छैठौँ मिनेटमा गोल गर्दै फेडरीको डिमार्कोले इटालीलाई १-० को अग्रता दिलाएका थिए । २० औँ मिनेटमा अर्को गोल थप्दै डेभिड फ्राट्टेसिले खेललाई २-० मा पुर्‍याए । तर दोस्रो हाफको ६८ औँ मिनेटमा गोल गर्दै नेदर्ल्यान्ड्सका स्टिभन बर्ग्विनले खेललाई २-१ मा पुर्‍याए । ७२ औँ मिनेटमा इटालीका लागी तेस्रो गोल गर्दै फेडरीको किएसाले खेललाई ३-१ मा पुर्‍याए । ८९ औँ मिनेटमा नेदर्ल्यान्ड्सका लागी फोल गर्दै जर्जिनियो विनाल्डमले खेललाई ३-२ मा पुर्‍याए पनि खेल बराबरीमा ल्याउन नसक्दा इटाली ३-२ ले विजयी भयो । 

घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध ३-२ को जितसँगै इटालीले तेस्रो स्थान हासिल गरेको हो ।