काठमाडौं - एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको तीन खेलमा नेपाल १५-० को गोल अन्तरले तीन हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

पहिलो खेलमा म्यान्मारसँग ५-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा चिनसँग सोही नतिजामा पराजित भयो । तेस्रो खेलमा चाईनिज ताईपेईसँग पनि ५-० कै गोल अन्तरमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।  

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा शनिवार भएको खेलको १० औं मिनेटमा मिडफिल्डर लिउ यु–चियाओले गोल गर्दै चाईनिज ताईपेईलाई १-० को अग्रता दिलाईन् । फरवार्ड लाइ यु–चीले ८ मिनेटपछि अग्रता दोब्बर बनाईन् भने ३७ औं मिनेटमा शिह यी–चिङले तेस्रो गोल गर्दै खेललाई ३-० मा पुर्‍याईन् । फरवार्ड हे जिया-शियानको ४१औं मिनेट र पहिलो हाफको अतिरिक्त समयको गरी व्यक्तिगत दुई गोलले खेल पहिलो हाफ सकिँदै ५-० मा पुगिसकेको थियो । 

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको नेपालले थप गोल हुन नदिएपनी खेल पहिलो हाफमै सकिसकेको थियो । 

जितसँगै चाइनिज ताइपेई २०२४ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२० वुमेन्स एसियन कपका लागि छनोट हुने अन्तिम टोली बनेको छ ।

समूह ए को विजेता अष्ट्रेलिया, उपविजेता भियतनाम र चाइना पीआरले यसअघी नै प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेका छन् । त्यसैगरी, एएफसी यू-१९ महिला च्याम्पियनसिप थाइल्याण्ड २०१९ का तीन उच्च वरियता प्राप्त टोली जापान, डीपीआर कोरिया र कोरिया गणतन्त्रसँगै आयोजक राष्ट्र उज्वेकिस्तान पनि प्रतियोगिताका लागी छनौट भईसकेका छन् ।