काठमाडौं - एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको दोस्रो खेलमा नेपाल चीनसँग पराजित भएको छ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल चीनसँग ५-० गोलअन्तरले पराजित भएको हो। यसअघि, नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग सोही मैदानमा ५–० कै नतिजामा पराजित भएको थियो। 

चीनका लागि खेलको १६ औं मिनेटमा युयाङ युहानले पहिलो गोल गरिन्। होउ युछिनले २६ औं मिनेटमा अर्को गोल गरिन्। यिन लिहोङले पहिलो हाफको इन्जुरीको दोस्रो र लु ज्यायुलले पाँचौं मिनेटमा गोल गरेपछी नेपाल पहिलो हाफमै ४-० ले पछी परेको थियो ।

दोस्रो हाफको अन्तिम मिनेटमा चीनका लागि यु जिकीले गोल गरेपछि नेपाली टोलीले लगातार ५-० को फराकिलो हार बेहोर्‍यो ।

समूह बी मा रहेको नेपाल २ खेलमा जितबिहिन रहँदा तालिकाको पुछारमा छ। लगातार जितसहित चीन ६ अंक जोडेर शिर्ष स्थानमा छ। 

नेपालले अब शनिबार चाईनिज ताइपेइसँग अन्तिम खेल खेल्नेछ।