काठमाडौं - मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ । 

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन् । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६, सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् । 

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् । 
 
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिए ।

जितसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।