काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको एकल इजलासमा लामिछानेविरुद्ध मुद्दाको पेशी तोकिएको हो । 

गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिकालाई बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

वि.स. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । यसअघि जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सन्दीपलाई तुरुन्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो । तर,उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि थुनामुक्त भएका सन्दीपमाथिको निलम्बन फुकुवा भएको थियो ।