काठमाडौं - सेमिफाइनलमा घरेलु टिम नेपाललाई २–३ सेटको नतिजामा पराजित गर्दै कजाकस्तान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी कजाकस्तानलाई कठिन चुनौती दिए पनि पराजित गर्न सकेन।

सरस्वतीको चौधरीको सर्वाधिक ६ अंकप्रेरित नेपालले पहिलो सेटमा कजाकस्तानलाई कठिन चुनौती दिएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपालले दुई पटकको एड्भान्टेज लिन नसक्दा कजाकस्तान २८–३० ले विजयी भएको थियो। पहिलो सेटमा सरस्वतीसँगै सफिया पुन, निरुता ठगुन्ना र उषा भण्डारीले तीन–तीन अंक जोडेका थिए।

दोस्रो सेटमा नेपालले २५–१६ को जित निकाल्दा सरस्वतीले पुनः एक पटक सर्वाधिक पाँच अंक जोडेकी थिइन्। त्यस्तै सफियाले तीन अंक जोडेकी थिइन्। तेस्रो सेटमा पहिलो अंक जोडेको नेपालले २५–१५ को जित निकाल्यो। उषाले सर्वाधिक ६ तथा निरुताले पाँच र सरस्वतीले तेस्रो सेटमा दुई अंक जोडेका थिए। चौथो सेटमा लगातार पाँच अंक गुमाएको नेपाल सुरुआतमै २–७ ले पछि परेको थियो। अन्तिम समयमा सम्हालिने कोसिस गरे पनि १० अंकले पछि परेको नेपालले १८–२५ को नतिजा सुम्पिनु पर्यो। निर्णायक बनेको पाँचौं सेटमा नेपालले पहिलो अंक जोडेको थियो। तर, कजाकस्तानले आठ अंक जोड्दा नेपालले दुई अंक मात्रै बनाउन सक्यो।

कोर्ट परिवर्तन गर्नुअघि २–८ ले पछि परेको नेपालले पुनरागमनको कोसिस गरे पनि एसियाली भलिबलको पाँचौं बलियो टिमलाई पराजित गर्न सकेन। खेलसँगै सम्हालिँदै गएको कजाकस्तानविरद्ध नेपाल ७–१५ मा सीमित भयो। 

जितसँगै फाइनलमा पुगेको कजाकस्तानले भारतको सामना गर्नेछ। भारत आजै भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानविरुद्ध ३–० सेटको जित निकाल्दै फाइनलमा पुगिसकेको छ।

असार आठ गतेदेखि सुरु भएको प्रतियोगिताको समूह ‘ए’बाट क्रमशः भारत र नेपाल समूह विजेता र उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए। समूह ‘बी’बाट कजाकस्तान र उज्वेकिस्तान क्रमशः विजेता र उपविजेता बन्दै सेमिफाइनलमा आइपुगेका थिए।

पराजित नेपालले भोलि तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्ने छ। फाइनलमा भारत र कजाकस्तान आइतबार भिड्ने छन्।