काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका १० क्लबले संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरूको समस्याको वेवास्ता गरेको आरोप लगाएका छन्। 

मछिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मरस्याङ्दी क्लबका अध्यक्ष विजय घले, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम साह, सातदोबाटो युथ क्लबका अध्यक्ष कपील राना मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका देवेन्द्रलाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको ध्यानाकर्षण गराएका हुन्।

एन्फाका निवर्तमान महासचिव समेत रहेका संकटाका अध्यक्ष तुलाधरले भने, ‘हामी सम्पूर्ण सहभागी क्लबहरूलाई लिग सुरु हुनुअघि १५ लाख, १३औं चरण सकिएपछि १० लाख र लिग सकिएपछि साँढे सात लाख दिनुपर्ने हो। हामीले तीन किस्तामा पाउनु पर्ने ३२ लाख ५० हजारमध्ये एक किस्ता पाएको हो। त्यसपछि केही छैन। दोस्रो किस्तान १३औं चरणपछि दिन्छौं भनेको थियो, त्यो पनि आएको छैन। हामीले पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि एन्फाले वास्ता गरेन। मैले कोषाध्यषसँग बुझ्दा त्यसको तयारी नै छैन।’

खेल तालिकामा एन्फाले हेल्चेक्र्याईँ गरेको र फुटबलको हित हुने गरी खेल समय मिलाउन पटक–पटक आह्वान गर्दा पनि बेवास्ता गरेको उनको दाबी थियो। क्लबहरूले फिफा र एएफसीको पैसा मागेको भन्ने बजारमा चलेको हल्लामा सत्यता नभएको पनि उनले बताए । ‘एन्फा र फिफाको पैसा हामीले मागेको होइन, प्रायोजन, गेट कलेक्सन, टिभि प्रायोजनबाट आएको पैसा मागेको हो। किनभने, त्यो हामीले खेलेर ल्याएको पैसा हो,’ उनले भने।

‘१३औं चरणसम्मको म्याच मनी दिनुहोस् भनेर भनेका हौं, त्यो पनि दिएको छैन, खेलाडीले म्यान अफ दी म्याचको पैसासमेत पाएका छैनन्,’ अध्यक्ष तुलाधरले भने, ‘हाम्रो कार्यकालमा म्याच बल ३० वटा दिने गरेका थियौं, अहिले एन्फाले म्याच बल पनि दिन सकिरहेको छैन।’ एन्फाले यू २३ एसियन कप छनोटमा टिम दर्ता गर्न बिर्सिएर बजेट नभएको बहाना बनाएको पूर्व महासविच तुलाधरले बताए।

‘यू २३ को टिम इन्ट्री गर्न बिर्सिनु भएको हुनुपर्छ, ३ लाख डलर पहिलेको पनि बाँकी नै छ। ट्राभलको पाँच लाख भनेको करिब ६ करोड नेपाली रुपैयाँ हो,’ उनले भने, ‘त्यसैले त्यो उहाँहरूले इन्ट्री गर्न भुल्नु भएको हो। राष्ट्रिय टिमको ब्याकअपको रूपमा रहेको उमेर समूहको प्रतियोगिता नगर्ने, महिला लिग, ललित स्मृति केही नगर्ने, हामीलाई पैसा नदिने, केही नगर्ने भएपछि दुई पटक उहाँहरूलाई ज्ञापन पत्र बुझाएका थियौं।’

एन्फाले बजेट अभावका कारण यू २३ एसियन कप छनोटमा सहभागी नहुने बताएको छ।

एन्फाका पूर्व अध्यक्ष तथा हिमालयन शेर्पाका अध्यष शेर्पाले भने, ‘एएफसी र फिफाको पैसाले फुटबल चल्दैन। त्यहाँबाट आउने बजेट लिमिटेड हुन्छ। फिफा र एएफसीबाट आएको पैसा मात्रै खर्च गर्ने भए चार्टड एकाउन्टेन्ट मात्रै राखेर चलाए भयो।। क्रिकेटका धेरै वटा भौतिक संरचना सरकारको नीति तथा कार्यक्रममा समावेश छन्। तर, फुटबलको ध्यान त्यसमा परेन। एउटा पनि फुटबलको संरचना सरकारको योजनामा छैन।’

उनले भने, ‘साफ यु १९ नेपालमा खेलाउने भन्ने थियो। तर, नेपालले त्यो निर्णयमा अडिग रहन नसक्दा आज भुटान हामी गर्छौं भनेर अगाडि बढेको अवस्था छ। आफ्नो देशमा आएको कार्यक्रम किन बाहिर पठाउने?’ अहिले एन्फाको व्यवहार देखेर आगामी प्रतियोगिता के हुन्छन् भन्ने अन्यौल पैदा भएको शेर्पाले बताए। ‘ए डिभिजन लिग कै हालत यस्तो छ, बी सी को कसरी विश्वास गर्ने?’ शेर्पाले प्रश्न गरे। पैसा नआए पनि लिग पूरा खेल्ने र पैसा लिन क्लबहरू आपसमा छलफल गर्ने उनले बताए।

अहिलेको एन्फा नेतृत्व आर्थिक हिसाबले असफल भएको शेर्पाले बताए। उनले भने, ‘आर्थिक हिसाबमा फेलुअर भन्न मिल्छ। एएफसीबाट आएको पैसा कतारमा विश्वकप हेर्न जाँदा प्रयोग भएको छ, त्यो पैसा उठेको छैन। ३८ लाख डलर फिफा र एएफसीमा पैसा बाँकी थियो। साँढे १२ लाख डलर नयाँ रकम आइसकेको छ। त्यसैले फुटबल टाट पल्टिएको भन्न मिल्दैन।’

‘महिला विश्वकपको टिकट किन्ने चाहीँ प्रायोरिटीमा पर्यो, तर लिग खेल्ने क्लबहरूको समस्या एन्फाको प्राथमिकतामा छैन,’ उनले भने, ‘फुटबल सुन हो, यसलाई बेच्न सकेकै छैन। एनएसएल कसरी बिकेको थियो भन्ने उदाहरणको रूपमा लिनुहोस्। उचित योजना र सही तरिकाले प्रपोजल बनायो भने लगानी गर्ने भेटिन्छ, तर उचित व्यवस्थापन नहुँदा फुटबल ओरालोतर्फ लागेको हो।’

शेर्पाले भने, ‘आय करको सिलिङ हुन्छ, फिफा–एएफसीले पनि देशको कानुन अनुसार खेलाडीलाई कर लगाउ भनेको हुन्छ। तर, १५ प्रतिशत भनेर एन्फाले नयाँ नियम बनाइदिएको छ। यसले खेलाडी मारमा परेका छन्।’

यो नियमअनुसार १८ देखि २२ लाख रुपैयाँ ए डिभिजन लिगका क्लबले कर तिर्नुपर्ने र सबै क्लबले गरी करिब तीन करोड कर मात्रै तिनुपर्ने अवस्था उत्पन्न भएको उनले बताए।

एनआरटीका महासचिव श्रेष्ठले पनि ‘खेलाडीको पैसा नकाटौं भन्दा’ फिफाको नियम भनेर एन्फाले जवाफ फर्काएको बताए। ‘सायद अब फुटबल खेलाडी संघले भनेपछि केही भन्छ कि ?’ श्रेष्ठको प्रश्न थियो।