काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार सातौं खेलमा बराबरी खेलेको छ।

मनाङसँग गोलरहित बराबरीमा अल्झिँदा लिग तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले पनि दोश्रो स्थानमा रहेको मछिन्द्र फूटबल क्लबसँगको अंक दुरी बढाउने मौका गुमाएको छ । 

च्यासल रंगशालामा भएको खेलमा दुवै टिम फिनिसिङमा चुक्दा खेल बराबरीमा सकिएको हो। मनाङले १४औं चरणमा आर्मीविरुद्ध १–० को जित निकालेको थियो। त्यसयता मनाङको यो सातौं बराबरी हो।

बराबरीसँगै २१ खेलबाट २५ अंक जोडेको मनाङ लिग तालिकाको ११औं स्थानमा झरेको छ। समान खेलबाट ३८ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा छ। दोस्रो स्थानको मछिन्द्रको समान २१ खेलबाट ३५ अंक छ।

आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई ४–० को नतिजामा पराजित गरेको छ।

खेलको पहिलो मिनेटमै गोल गर्दै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाए। प्रकाश बुढाथोकीले ५५औं मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्सले अग्रता दोब्बर पार्‍यो। टोरिच जेब्रिनले ८७औं र ९०औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सका लागि ०–४ को जित सुनिश्चित गरे। 

जितसँगै २१ खेलबाट २४ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २९ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ।