काठमाडौं - सांसद अमरेशकुमार सिंह संसदमा अर्धनग्न भएका छन्।

सभामुख देवराज घिमिरेले बैठकमा विशेष समय र आकस्मिक समयको निर्धारण नगरिएको जानकारी गराएपछि सांसद अमरेशकुमार सिंह र प्रेम सुवालले समय माग गरेका थिए। सभामुखले जानकारी गराएपनि सांसद सुवाल र सिंहले बोल्नका लागि उठेर समय मागेका थिए तर सभामुखले पुन: विशेष र आकस्मिक समय निर्धारण नगरिएकाले नियमित कार्यसूचीमा जान सहयोग गर्न आग्रह गरे। 

सुवाल र सिंहले बोल्न माग गरी रहँदा सभामुखले सांसदलाई बस्न पटक-पटक आह्वान गरे। दुवै सांसद एकोहोरो बोलेपछि सभामुख घिमिरेले संसद बैठक सञ्चालनको नियमावलीको ख्याल गर्न र समय लिएर बोल्न आग्रह गर्दै धारा २० को नियम २० र २१ खण्डतिर ध्यानाकर्षण भएको जनाउ दिए।

घिमिरेले बसेर बैठकका नियमित कार्यलाई सहयोग गर्न आग्रह गर्दै बोल्न समय नदिएको जानकारी गराए। तर सांसद सिंह र सुवाल निरन्तर बोलिरहे। यता सभामुखले निरन्तर सम्झाइरहेका थिए। 

त्यसपछि सभामुखले नियमित कारबाहीलाई अगाडि बढाउने जानकारी गर्दै शुन्य समय प्रारम्भ भएको घोषणा गरे। तर सांसद सिंह यतिमै रोकिएनन् उनले बोल्न पाउनुपर्ने माग गर्दै आफूले लगाएको स्टकोट, सर्ट र सेण्डो खोलेर अर्धनग्न हुन थाले। यता अन्य सांसदले उठेर सिंहको गतिविधिको विरोध गरे।

अर्धनग्न भएपछि सांसद सिंहको नाम लिएर सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे। उनले नियम ३० को आधारमा चेतावनीसमेत दिए। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसदलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था  छ। सोही अनुसार सभामुख घिमिरेलाई असभ्य व्यवहार नदेखाउन आग्रह गरे।

सिंहले आफूले फुकालेको कपडा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए। पटक-पटकको चेतावनीपछि सांसद सिंहले कपडा लगाए। त्यसपश्चात सभामुखले शून्य समय सञ्चालन गरे।