काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा आइतबार चर्च ब्वाइज युनाइटेडले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोलले पराजित गरेको छ। 

वर्षाका कारण शनिबार साँझ हुने तय भएको खेल आइतबारलाई सारिएको थियो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। मौसम सुब्बाले ५५औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। निर्धारित ९० मिनेटसम्म २–० ले पछाडि परेको मनाङले इन्जुरी समयमा थप एक गोल गर्यो।

जितसँगै १३ खेलबाट २१ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक जोडेको मनाङ १०औं स्थानमा झरेको छ।

आजै भएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले पनि १–१ गोलको बराबरी खेलेका थिए। 

शनिबार च्यासल रंगशालामा भएको खेलको ३३औं मिनेटमा फोडे फोफानको गोलसँगै जावलाखेल १–० ले अगाडि थियो। भारी वर्षाका कारण ५५ मिनेटमा रोकिएको खेल आइतबार सोही समयबाट सुरु भएको थियो। आइतबार एन्फा कम्प्लेक्समा निशान खड्काले ७२औं मिनेटमा गोल गर्दै संकटालाई हारबाट जोगाए।

बराबरीसँगै १३ खेलबाट २४ अंक जोडेको जावलाखेलले शीर्ष स्थानमा अंक दूरी लम्ब्याउने मौका गुमाएको छ। थ्री स्टारको १३ खेलबाट २२ अंक छ। समान खेलबाट १६ अंक जोडेको संकटा आठौं स्थानमा उक्लिएको छ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबले पनि बराबरी १–१ गोलको बराबरी खेलेका थिए। 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो मिनेटमै नवयुग श्रेष्ठले गरेको गोलसँगै आर्मीले अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए। ७१औं मिनेटबाट आज सुरु भएको खेलमा कुनै गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे। 

बराबरीसँगै १३ खेलबाट २० अंक जोडेको आर्मी अंक तालिकाको पाँचौ स्थानमा छ। समान खेलबाट १४ अंक जोडेको शेर्पा १२औं स्थानमा उक्लिएको छ।