काठमाडौं - भारतीय महिला लिगको पहिलो खेलमै ५ गोल गरेकी नेपाली चेली सावित्रा भण्डारीले दोश्रो खेलमा चार गोल गरेकी छन् ।

दुई पटक भारतीय लिग जितिसकेकी गोल मेसिन सावित्रा गोकुलम केरलाबाट खेलिरहेकी छन् । सावित्राकै गोलको मद्दतले गोकुलम केरलाले लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमै इस्ट बंगाल विरुद्ध ५ गोल गरेकी सावित्राले शनिबार ओडिसा स्पोर्ट्स विरुद्ध चार गोल गरिन् । पहिलो खेल ८-२ ले जितेको गोकुलमले दोस्रो खेल ८-१ ले जित्यो ।

ओडिसा स्पोर्ट्स विरुद्ध सावित्राले खेलको सातौं मिनेटमै गोल गरी गोकुलमलाई अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सुमिताले स्पोर्ट्स ओडिसाका लागि बराबरी गोल फर्काएकी थिइन् । तर पहिलो हाफमा भिभियनले २८औं र डांगमाई ग्रेसले ४३ औं मिनेटमा गोल गर्दा गोकुलम केरालाले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा सावित्राले ६२औं र ६३औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ७९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । यस्तै शिल्कीले ७०औं मिनेटमा गोल गर्दा भिभियनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

स्पोर्ट्स ओडिसाबाट नेपाली राष्ट्रिय टिमकी अर्की परवार्ड रेखा पौडेल पनि खेलेकी थिइन् । यसअघि पहिलो खेलमा गोल गरेकी रेखाले सावित्राको टिम विरुद्ध भने गोल गर्न सकिनन् ।

लगातार दोस्रो जितपछि गोकुलम केरला समूह ए मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन्जिला तुम्बापो सुब्बासम्म भारतीय महिला लिग खेलिरहेका छन् ।