काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार विभागीय टिम नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई ३–१ ले पराजित गर्दै सिजनको तेस्रो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २७औं मिनेटमा पुलिसका डेब्यूट्यान्ट खेलाडी अहमद हिजाजीले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको खुमलटारले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्काएको थियो।

मोसुके ओलामेउले ५४औं मिनेटमा खुमलटारका लागि बराबरी गोल फर्काएका थिए। तर, निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा मोजेज ट्वीमले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका दिलाए।

इन्जुरी समयमा पुन हिजाजीले गरेको गोलसँगै पुलिसले ३–१ को जित सुनिश्चित गर्यो। जितसँगै १३ खेलबाट पुलिसले १२ अंक जोडेको छ। लिग तालिकाको पुछारमा रहे पनि पुलिसले अगाडिका टिमसँग अंक दूरी घटाएको छ। खुमलटार समान खेलबाट १३ अंक जोडेर १२औं स्थानमा छ।

आजै एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेलेका छन्। 

प्रदीप लामाले २७औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। फ्रेन्ड्सका लागि ५२औं मिनेटमा रफिक अमिनुले बराबरी गोल फर्काएका थिए।

बराबरीसँगै एपीएफ १३ खेलबाट १८ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा छ। समान खेलबाट १५ अंक जोडेको फ्रेन्ड्स नवौं स्थानमा छ।