काठमाडौं - नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’को विजेता बनेको छ। सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपाल कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतारले २५.१ ओभरमा सबै विकेट गुमाउनुअघि ८९ रन मात्रै बनाउन सक्यो।

नेपालको कसिलो बलिङसामू टिक्न नसकेको कतारका लागि खुराम सहजाद र जहिर इब्राहिमले १५–१५ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ९.१ ओभरमा १४ रन खर्चिएर तीन मेडनसहित सर्वाधिक पाँच विकेट लिए। यस्तै, सोमपाल कामीले सात ओभरमा २४ रन खर्चेर एक मेडनसहित तीन विकेट लिँदा ललित राजवंशीले दुई विकेट लिए।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेलले २७ तथा सन्दीप लामिछानेले अविजित ४२ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

कतारका लागि अमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए। यस्तै, ओवाइस अहमदले तीन र गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिएका थिए।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग भेट निश्चित गरेको छ। समूह ‘ए’ बाट नेपालसँगै ओमान पनि अन्तिम चारमा पुगिसकेको छ। 

अर्को समूहबाट यूएई सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ। आज जारी कुवेत र हङकङबीचको खेलले अर्को टिमको टुङ्गो लगाउने छ।