काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । 

आइतबार चितवन क्षेत्र नं २ मा मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको थियो ।
 
निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार स्पष्टिकरण सोधिएको र आइतबारै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।
 
निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत् मत मागेको, मतदानस्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको थियो ।

दलहरूबीच विवाद सृजना भएपछि चितवन २ मा मतगणना अझैं सुरू भएको छैन।