काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अजयी मार्टिन्सको एक मात्र गोलको मद्दतले थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १-० को नतिजामा पराजित गरेको छ।

जारी सिजनमा थ्री स्टारको यो चौथो जित हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मार्टिन्सले ६५औं मिनेटमा गरेको गोल नै थ्री स्टारलाई तीन अंक दिलाउन काफी रह्यो।

जितसँगै थ्री स्टारले आठ खेलबाट १४ अंक जोडेको छ। लिगमा थ्री स्टारले तीन खेलमा बराबरी खेल्दा दुई खेलमा हार बेहोरेको छ।

थ्री स्टारसँग पराजित भएसँगै पुलिसले भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिने सुनौलो अवसर गुमायो। लिगमा छैटौं हार बेहोरेको पुलिस तालिकाको १३औं स्थानमा छ। पुलिसले आठ खेलमध्ये एकमा जित र एकमा बराबरी खेलेको छ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा नवप्रवेशी चर्च ब्वाइज युनाइेडले फ्रेन्ड्स क्लबसँग १-१ को बराबरी खेलेको छ।

सुरुवाती तीन खेल जितेर सानदार सुरुवात गरेको चर्च ब्वाइजले त्यसपछि भने लगातार पाँच खेलमा बराबरी खेलेको छ । लगातार पाँचौ बराबरी खेलेको चर्च ब्वाइज जारी लिगमा एक्लो अपराजित टिमको रुपमा छ । 

खेलको २१ औं मिनेटमा जोस्पेह बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्रेण्ड्सले पेनाल्टीबाट बराबरी गोल फर्कायो । चर्च ब्वाइजका मनोज राईले पेनाल्टी एरियामा टोरिक जेब्रिनलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रेन्ड्सका ७३ औं मिनेटमा अमित तामाङले गोल गरे ।

८ खेलबाट १४ अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लेको छ । फ्रेण्ड्स ८ खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।