काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई २-० गोलले पराजित गरेको छ। 

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे। 

खेलको ३४औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५२औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए। जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

मनाङले ६ खेलमा १४ अंक जोडेको छ। फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ। 

आजै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाडेका छन्। 

खेलको ३२औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए। तर ३५औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए। 

खेलको ६३औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २-१ ले अघि रह्यो। तर खेलको ८६औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ। खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ।