काठमाडौं - १८औं राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडीले स्वर्ण पदक जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठसँगै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । 

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल पुलिस क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनिष आलेलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । फाइनल जित्न इन्द्रलाई १६ सेकेन्डको समय मात्रै लागेको थियो । चार मिनेटको खेलमा इन्द्रले इप्पोनका आधारमा मनिषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई र बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो भए ।

महिला ४८ केजीमुनिको फाइनलमा बागमतीकी निशाले एपीएफकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेस्रो बने । ५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना दंगाललाई पाखा लगाइन् । कर्णालीकी अनिता बुढा र पुलिसकी प्रतिभा पुलामी मगर तेस्रो स्थानमा रहे । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

महिला ५७ केजीमुनि आर्मीकी सिमाकुमारी चिडीले एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुमिन् । बागमतीकी अन्जु पाण्डे र कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारे । ६३ केजीमुनि पुलिसकी दिलकुमारी छन्त्यालले बाजी मारिन् । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाइन् । कर्णालीकी बन्दना कुलुङ र लुम्बिनीकी निर्मल कुँवर तेस्रो भए ।

पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गरे । उनले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाए । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दीपक रास्कोटीले तेस्रो स्थानमा चित्त  बुझाए । ७३ केजीमुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीलाई हराए । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेस्रो भए ।

प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि प्रारम्भिक खेलाडी छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए । उनका अनुसार प्रत्येक तौलसमूहबाट चार खेलाडी प्रारम्भिक चरणमा छनोट हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी एक सय १६ खेलाडी सहभागी छन् ।