काठमाडौं - नेपालले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’ को पहिलो खेलमा टस जितेर ब्याटिङ थालेको मलेसियाले ९ विकेट गुमाएर २३५ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ४० बलको सामना गरेका कुशल मल्लले पाँच चोका र पाँच छक्कासहित ७० रनको अविजित इनिङ खेले। यस्तै, चौथो विकेटका लागि कुशलसँग ११२ रनको साझेदारी गरेका भीम सार्कीले ९८ बलमा पाँच चौकासहित ७१ रनको इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेल ३१ बलमा पाँच चौका र दुई छक्कासहित ३८ रन बनाएका थिए। कप्तान रोहित पौडेलले ४३ बलमा पाँच चौकासहित ४२ रन जोडे। 

मलेसियाका लागि मोहम्मद वाफिक, रिजवान हेदर, खिजर हायात र विरनदीप सिंहले एक–एक विकेट लिए।

पहिलो इनिङमा कप्तान अहमद फैजले ९५ बलमा एक छक्का र आठ चौकासहित ७६ रनको इनिङ खेलेका थिए। ओपनर विरनदीपसिंहसँग ११६ रनको साझेदारी गर्दै फैजले उत्कृष्ट इनिङ खेले। विरनदीपले ९४ बलमा दुई चौकासहित ४६ रन बनाएका थिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर तीन विकेट लिए। यस्तै सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर एक मेडनसहित तीन विकेट लिए। ललित राजवंशीले दुई तथा गुल्शन झाले एक विकेट लिए।

नेपालले दोस्रो खेल शुक्रबार ओमानसँग कीर्तिपुरमै खेल्ने छ। मलेसियाले प्रतियोगिताको दोस्रो खेलमा बिहीबार साउदी अरबको सामना गर्नेछ।

समूह ‘बी’मा हङकङ विजयी

त्यसैगरी, समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आजै भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। 

टस हारेर ब्याटिङ थालेको सिंगापुरले ४२.१ ओभरमा सबै विकेट गुमाउनुअघि १७४ रनको योगपफल तयार गरेको थियो।

सिंगापुरका कप्तान अरित्रा दत्तले ५७ बलमा ९ चौकासहित ४९ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। हङकङका इशान खानले सर्वाधिक चार तथा यासिम मुर्ताजाले तीन विकेट लिएका थिए।

दोस्रो इनिङमा हङकङका लागि विस्फोटक ब्याटिङ गरेका बाबर हायातले ९४ बलमा १० चौका र ६ छक्कासहित अविजित १०८ रनको शतकीय इनिङ खेले।

त्यसअघि कप्तान निजाकत खानले ८९ बलमा चार चौका र एक छक्कासहित ५१ रन जोडेका थिए।