काठमाडौं – कपाल सेतो हुने धेरैले देखेका छन् । यसैले जिज्ञासा बढ्नु स्वाभाविक पनि हो । उमेर नपुग्दै वा बुढो नहुँदै कपाल फुलेपछि त जिज्ञासा मात्रै होइन मानिसहरु पिरोलि नै पनि थाल्दछन् । कपाल किन फुल्छ त ? यसका केही कारणहरु छन् । प्रथमतः कपाल सेतो हुनुमा वंशाणुको ठूलो भूमिका हुन्छ ।  भन्नुको मतलव छिटो कपाल सेतो हुने बाबुआमा वा बाजेबज्यै छन् भने उनीहरुका सन्तानमा पनि यो विकार हुने धेरै सम्भावना रहन्छ । यस्तो अवस्थामा अक्सर कपालको बनौट मोटो वा केही कडा हुन्छ । 


दोस्रो प्रमुख कारण त सबैलाई थाहा भएकै कुरो हो पाको उमेर ढल्किएपछि कपाल क्रमशः  सेतो हुन थाल्दछ । कपालको जरामा थैली जस्ता  ग्रन्थीहरु  हुन्छन् । ती ग्रन्थीभित्र रंगिन कणहरु  बनाउने  कोष  हुन्छ । जब ती कोषमा रंगिन कणहरु बन्ने प्रक्रिया ढिलो हुन थाल्छ तब  बिस्तारै  कपाल  सेतो हुन थाल्छ । किनभने कपालको रंग यसमा रहेको रंगिन कणहरुको मात्रामा भर पर्दछ । यसमा एक थरी भनाई यस्तो पनि छ कि कपालको कोषमा हावाको थैलीहरु जम्मा भएर पनि कपालको रंग खुइलिन सक्छ ।  किनभने  कपालका  कोषहरुमा हावा जम्मा भएपछि त्यहाँ रंगिन कणहरु रहने मौका हुदैन । यस बाहेक कुपोषण असाध्य रोग  र चिन्ताले पनि हाम्रो  कपालको  रंग  खुइलिन्छ । कहिलेकाहीँ त अपर्झट डरले पनि मानिसको कपाल  सेतो हुन सक्छ । ती सबैको कारण कपालमा रंगिन कणहरुको मात्रा नपुगेर हो । तर ती रंगिन कणहरु के कति कारणले नपुग हुन्छन् त्यो भने अझै थाहा पाउन बाँकी नै छ ।