काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौति गरेर अफ्ठ्यारो अवस्थालाई सहज बनाउनुपर्ने बताएका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए।
उनले तीव्ररूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताए। थापाले गएको १०-१५ वर्ष खेर फालेको भन्दै अब कांग्रेससमेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे।
पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ। थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने बताए।
0 comment