काठमाडौं - सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको ४३ औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा जावलाखेलका दीपक सिंह ठकुरीले एक गोल फर्काएपनि जावलाखेल २-१ ले विजयी भयो। 

जितसँगै जावलाखेलले ६ खेलबाट १३ अंक जोडेको छ। सातदोबाटोले ६ खेलबाट १२ अंक जाडेको छ।

आजै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन्। च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन्। 

खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए। 

तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए। 

बराबरीसँगै एनआरटीले ६ खेलबाट ३ अंक जोडेको छ। चर्च ब्वाइजले ६ खेलबाट १२ अंक जोडेको छ।