काठमाडौं - नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलको इन्जुरी समयमा दीपकराज सिंह ठुकरीले बराबरी गोल फर्काएसँगै नेपाल भुटानविरुद्धको हारबाट जोगिँदै फाइनलमा पुगेको हो। 

भुटानका लागि नोर्बुले खेलको १९औं मिनेटमा गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको थियो। नेपालका लागि दोश्रो हाफको इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले बराबरी गोल फर्काए। यसअघि भएका १२ खेलमा भुटानविरुद्ध नेपालले एकलौटी नतिजा निकालेको थियो। 

भुटान नेपालसँग बराबरीमा रोकिएसँगै लाओस प्रतियोगिताको फाइनलमा पुगेको छ। पहिलो खेलमा नेपालसँग २–० ले पराजित भएको लाओसले दोस्रो खेलमा भुटानविरुद्ध २–१ को जितसँगै तीन अंक जोडेको थियो।

समूह चरणबाट नेपालले एक जित र एक बराबरीसहित चार अंक जोड्दा लाओसले तीन अंक जोड्यो। जितविहीन भुटानको एक अंक मात्रै रहँदा फाइनलमा स्थान बनाउन असफल रह्यो। 

प्रतियोगिताको फाइनल आगामी चैत्र १७ गते हुनेछ।