काठमाडौं - दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ आगामी जुन २१ देखि भारतको बेंगलुरुमा हुने भएको छ । 

प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष कल्यान चाउबेले आइतबार मिति घोषणा गर्दै साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म हुने घोषणा गरेका हुन् । च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

गत महिना दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरे पनि मिति र स्थान टुङ्गो लागेको थिएन ।

साफ च्याम्पियनसिप २०२३ मा दक्षिण एसियाका सबै टिमले सहभागिता जनाउने अपेक्षा छ । तर श्रीलंका फुटबललाई भने हाल फिफाले निलम्बन गरेको छ ।

भारतीय फुटबल महासंघका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । च्याम्पियनसिपको ड्रका लागि छिटै मिति घोषणा गरिने पनि महासंघले जनाएको छ ।

यसअघि १३औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो जहाँ नेपालले पहिलो पटक फाइनल पुग्दै इतिहास बनाएको थियो । तर उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।