काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले एफसी खुमलटारलाई २-१ ले पराजित गरेको छ । जारी लिगमा चौथो जित हात पारेको सातदोबाटो चर्च ब्वाइजलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा भएको खेलमा खेलको १३औं सरदोरवेक मातमुराटोभले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । दीपक राज सिंह ठकुरीले २५औं मिनेटमा गोल गरी सातदोबाटोको अग्रता दोब्बर पारे । खुमलटारका राजीवले ६३औं मिनेटमा एक गोल फर्काए ।

जितपछि पाँच खेलबाट १२ अंक जोड्दै सातदोबाटो लिगको शीर्ष स्थानमा उल्को छ । तेस्रो हार बेहोरेको खुमलटारको ५ खेलबाट ६ अंक छ ।

यस्तै एन्फा कम्प्लेक्समा बिहीबारै भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि संकटाका पाँच खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा छ । संकटाको यो तेस्रो बराबरी हो । ५ खेलबाट ५ अंक जोडेको हिमालयन शेर्पा १० औं स्थानमा छ ।