काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफले त्रिभुवन आर्मीलाई १-० ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा मणिकुमार लामाले खेलको ३७औं मिनेटमा गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो ।

पहिलो खेलमै थ्री स्टारलाई पराजित गरेको एपीएफको लिगमा यो दोस्रो जित हो । चार खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेको एपीएफ पाँचौँ स्थानमा छ ।

आर्मीको भने यस सिजन यो पहिलो हार हो । हारपछि चार खेलबाट ५ अंक रहेको आर्मी नवौं स्थानमा झरेको छ ।