काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि राफिक अमिनुले खेलको १९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै, कप्तान प्रकाश बुढाथोकीले ४० औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाएका थिए ।

२–० ले पछि परेको खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याए पनि जारी लिगमा पहिलो पराजय भोग्यो ।

यसअघिका २ खेलमा हार र १ खेल बराबरी गरेको फ्रेन्ड्सको यो पहिलो जित हो ।

त्यसैगरी, साविक विजेता मछिन्द्रले पनि शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ ।

ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो । ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे ।

त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । 

पहिलो जितपछि मछिन्द्रले चार खेलबाट ४ अंक जोडेको छ । पुलिसको भने यो लगातार चौथो हार हो ।

त्यस्तै, जारी शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको दोस्रो हाफको इन्जुरी समयमा संकटाले पेनाल्टी पाएको थियो । गोलरहित बराबरीमा चलिरहेको खेलमा पाएको पेनाल्टीमा मनिषले गोल गर्न सकेनन् । मनिषको प्रहार रोक्दै चर्च ब्वाइजका गोलरक्षक प्रिसोले टिमका लागि १ अंक जोगाए ।

अहिलेसम्म अपराजित रहेको चर्च ब्वाइजले लिगमा यसअघि नेपाल पुलिस क्लब, हिमालयन शेर्पा र एफसी खुमलटारलाई हराएको थियो ।