काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ ।

आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।

आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जारी लिगमा दोस्रो जित निकालेको थ्रीस्टार चार खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जावलाखेल समान ७ अंक भए पनि थ्रीस्टार गोल अन्तरमा पछि रहेको छ ।

लगातार तीन खेल जितेर उत्कृष्ट सुरुवात गरेको सातदोबाटोको लिगमा यो पहिलो हार हो ।

चार खेलबाट ९ अंकसहित सातदोबाटो दोस्रो स्थानमै छ । सातदोबाटोको हारपछि जारी लिगमा तीन टिम मात्र अपराजित छन् भने चर्च ब्वाइज युनाइटेड मात्रै शतप्रतिशत जित निकाल्ने एक्लो टिमको रुपमा छ । चर्च ब्वाइजसँगै त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब लिगमा अपराजित छन् ।