काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। 

दशरथ रंगशालामा भएको खेलको इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले गरेको एक मात्र गोल जितका लागि पर्याप्त बन्यो।

जितसँगै सातदोबाटोले लिगका तीन खेलमा सतप्रतिशत नतिजा कायम राखेको छ। पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलको नतिजामा पराजित गरेको सातदोबाटोले दोस्रो खेलमा विभागीय टिम एपीएफविरुद्ध १–० को कठिन जित निकालेको थियो।

आजको जितसँगै लिगका लगातार तीन खेलमा जित निकाल्ने दोस्रो टिम बनेको छ। चर्च ब्वाइज युनाइटेड पनि लिगका सबै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ। दुई खेलमा जित र एक बराबरीसहित सात अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा छ।