१९ फाल्गुन, २०७९
कपाल सेतो हुने धेरैले देखेका छन् । यसैले जिज्ञासा बढ्नु स्वाभाविक पनि हो । उमेर नपुग्दै वा बुढो नहुँदै कपाल फुलेपछि त जिज्ञासा मात्रै होइन मानिसहरु पिरोलि पनि थाल्दछन् । कपाल किन फुल्छ त ? यसका केही कारणहरु छन् । प्रथमतः कपाल सेतो हुनुमा वंशाणुको ठूलो भूमिका हुन्छ । भन्नुको मतलव छिटो कपाल सेतो हुने बाबुआमा वा बाजेबज्यै छन् भने उनीहरुका सन्तानमा पनि यो विकार हुने धेरै सम्भावना रहन्छ । यस्तो अवस्थामा अक्सर कपालको बनौट मोटो वा केही कडा हुन्छ ।
दोस्रो प्रमुख कारण त सबैलाई थाहा भएकै कुरो हो पाको उमेर उमेर ढल्किएपछि कपाल क्रमशः सेतो हुन थाल्दछ ।कपालको जरामा थैली जस्ता ग्रन्थीहरु हुन्छन् । ती ग्रन्थीभित्र रंगिन कणहरु बनाउने कोष हुन्छ ।जब ती कोषमा रंगिन कणहरु बन्ने प्रक्रिया ढिलो हुन थाल्छ तब बिस्तारै कपाल सेतो हुन थाल्छ ।किनभने कपालको रंग यसमा रहेको रंगिन कणहरुको मात्रामा भर पर्दछ । यसमा एक थरी भनाई पनि छ कि कपालको कोषमा हावाको थैलीहरु जम्मा भएर पनि कपालको रंग खुइलिन सक्छ । किनभने कपालका कोषहरुमा हावा जम्मा भएपछि त्याहाँ रंगिन कणहरु रहने मौका हुदैन । यस बाहेक कुपोषण असाध्य रोग र चिन्ताले पनि हाम्रो कपालको रंग खुइलिन्छ । कहिलेकाहीँ त अपर्झट डरले पनि मानिसको कपाल सेतो हुन सक्छ । ती सबैको कारण कपालमा रंगिन कणहरुको मात्रा नपुगेर हो । तर ती रंगिन कणहरु के कति कारणले नपुग हुन्छन् त्यो भने अझै थाहा पाउन बाँकी नै छ ।
0 comment