काठमाडौं - मछिन्द्र फुटबल क्लबले पहिलो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। 

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सातदोबाटो फाइनलमा पुगेको हो। 

यस्तै, पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको थियो। 

उपाधि बिजेता मछिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले पाँच लाख नगद प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदीयमान खेलाडीलाई ५० प्रदान गर्ने आयोजकले जनाएको छ।