काठमाडौं - अर्जेन्टिना रपिएसजी फरवार्ड लियोनल मेस्सी २०२२ को फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।

३५ वर्षिय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन्। २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो।

बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने, "यो ठुलो खुशीको कुरा हो। यो वर्ष विशेष रह्यो। यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि गर्वको कुरा हो। मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ। मैले लामो समयदेखिको सपना पूरा गरें। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यस कुरामा भाग्यशाली सावित भएको छु।"

पेरिसमा भएको समारोहमा पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछी पार्दै अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए।

गत वर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिप जिताएकी इङ्ल्यान्डकी म्यानेजर सारिना विगम्यानलाई उत्कृष्ट महिला प्रशिक्षक घोषित भइन्।

एस्टन भिल्ला र अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए भने महिलातर्फ इङ्ल्यान्डकी मेरी इर्प्सले अवार्ड जितीन्। ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको शुटआउटमा पेनाल्टी बचाएर आफ्नो देशलाई विश्वकप जिताउन मद्दत गरेका थिए। वुमेन्स सुपर लिगमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने इरप्सले युरो २०२२ मा इङ्ल्यान्डका सबै ६ खेलहरू खेलेकी थिइन्।

पोल्याण्डको वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले वर्षको उत्कृष्ट गोलको लागि फिफा पुस्कास अवार्ड जितेका छन्। उनले स्टाल जेस्जोविरुद्ध बैसाखीको सहारामा उत्कृष्ट ओभरहेड भली प्रहार गर्दै गोल गरेका थिए।

जर्जियाका लुका लोचोसभिलीले फेयर प्ले अवार्ड जिते। अष्ट्रीयन लिगमा खेलको बिचमा विपक्षी मिडफिल्डर भिएनाका जर्ज टिगल बेहोस भएपछि ज्यान बचाउन जिब्रो समातेका थिए।

फिफ्प्रो पुरुष विश्व ११ : थिबाउट कोर्टोइस, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो; केभिन डी ब्रुइन, लुका मोड्रिक, कासेमिरो; लियोनेल मेस्सी, एर्लिंग हालान्ड, करिम बेन्जेमा, केलियन एमबाप्पे।

विजेताहरूको पूर्ण सूची:

उत्कृष्ट पुरुष खेलाडी: लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडी: एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपर: एमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपर: मेरी इर्प्स

उत्कृष्ट पुरुष प्रशिक्षक: लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षक : सरिना विग्म्यान

सर्वश्रेष्ठ पुस्कास अवार्ड: मार्सिन ओलेक्सी

उत्कृष्ट फ्यान अवार्ड: अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली