काठमाडौं - बालाजु प्रहरीले सोमबार भएको गोंगबु दंगामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
यातायात सञ्चालकले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी चौकी तोडफोड र प्रहरीको गाडीमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौंले उनीहरुमाथी थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ ।
दंगामा संलग्न भएको आशंकामा अन्य १० जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको ‘कडा’ नियम र काठमाडौं महानगरपालिकाले लामो तथा मध्यम मार्गका सार्वजनिक सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कभित्र बाहेक खुला ठाउँमा पार्किङ गर्न नदिने घोषणाको विरोधमा सोमबार यातायात सञ्चालकले प्रदर्शन गरेका छन् ।
आन्दोलनकारीले बढी जरिवाना गरेको भन्दै प्रहरीप्रति आक्रोश पोख्दै दुईवटा ट्राफिक भ्यानमा आगजनी गरेपछि प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । यसैक्रममा लोत्से मल र काठमाडौं सुपर मार्केटका दुईवटा मोबाइल पसलमा तोडफोड गरी लुटपाट भएको छ । लुटेराहरूले लाखौं रुपैयाँको मोबाइल सेट लुटपाट गरेको पसल मालिकले बताएका छन् ।
सोही घटनामा संलग्न रहेको आशंकामा मंगलबार नयाँ बसपार्क क्षेत्रबाट चार जनालाई पक्राउ गरिएको हो ।
गृहसचिव विनोद प्रकाश सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलगायत सम्बन्धित निकायसँग बैठक गरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
यस्तै प्रधानमन्त्री दाहालले बुधबार राष्ट्रिय सुरक्षा निकायका उच्च अधिकारीलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन निर्देशन दिएका छन् ।
0 comment